उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी चल्न दिइने,कुन बार के खुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ ।

आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ । यसैगरी थप गरिएको निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ । यसैगरी, निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।

विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल विहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

कुन बार के खुल्ने ?

अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।


प्रकाशित | ६ असार २०७८, आईतवार १८:१४