जगत मन्दिर र लाइसियम च्याम्पियन

काठमाडौं : जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गर्ल्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गर्ल्सको चौथो संस्करण हो ।

माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले सम्भावीलाई २–० ले हराउदै तेश्रो भयो ।

कालोपुलस्थित एडभान्स स्कुलमा भएको गर्ल्सको उपाधि भिडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता गर्यो । तेश्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो । दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गर्ल्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गर्ल्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गर्ल्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए ।

त्यस्तै ब्वाइजमा एडभान्सका अभिषेक मगर र गर्ल्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गर्ल्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गर्ल्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई नेपाल भलिबल संघका उपाध्यक्ष कुमार सुवेदी, माफका अध्यक्ष राजन आचार्य, एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष रमेश डंगोल, नेपाल भलिबल संघअन्तर्गत विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ३० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गर्ल्समा समान १२–१२ सहभागी थिए । खेलपाटीको सहयोगमा ।


प्रकाशित | ५ पुष २०७६, शनिबार १८:५५