उपत्यकामा निषेधाज्ञा थप्ने बारे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप गर्ने बारे काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने छ । जारी निषेधाज्ञा सातदेखि १० दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको जानकारी दिइएको छ ।

भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । अव थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोल्न दिने बारे छलफल भएको छ ।

यसै गरी किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिएकोमा अब विहान ११ बजेसम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ । निजी तथा सार्वजनिक निर्माणको काम गर्न यस अघि दिइएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार १४:५१