लोकतन्त्र र संविधान दलहरुले नै बचाउनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र र संविधान दलहरुले नै बचाउनु पर्नेे निष्कर्ष निकालेको छ ।
बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताउनु भयो ।

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जानकारी दिनु भयो । उहाँले यसरी पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताउनु भयो ।

नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताउनु भयो ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गर्नु भएको हो ।


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १८:१२