विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूले विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटन हुन सक्ने संकेत दिनु भएको छ । आज प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त नभए प्रदेश सभा विघटन हुने संकेत गर्नु भएको हो ।

उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र आफ्नो विश्वासको मतसम्बन्धी प्रस्ताव पनि विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनु भयो ।

विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस हुने बताउँदै उहाँले अन्यथा संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने जानकारी गराउनु भयो ।

उहाँले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार सञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि आफू प्रदेशसभामा उपस्थित भएको उहाँले बताउनु भयो ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १३:२०