नयाँ नेतृत्वले अमेरिकाबासी नेपालीहरुलाई अझ सशक्त बनाउने विश्वास

टेक्सस । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले नयाँ नेतृत्वले अमेरिकामा रहेको नेपाली समुदायलाई अझ सशक्त बनाउने बताउनु भयो ।

निर्वाचनले अमेरिकाबासी नेपालीहरुमा आपसी सम्बन्ध विस्तारमा ठूलो योगदान पुर्याएको बताउनु हुँदै उहाँले नयाँ नेतृत्वले नेपाली समुदायलाई अझ सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नु भएको हो ।

एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि शनिबार र आइतबार निर्वाचन भएको थियो । निर्वाचनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । उहाँले अमेरिकामा नेपालीहरुको पहिचान र एकतालाई मजवुद बनाउनका लागि नयाँ नेतृत्व सफल हुने पनि विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘आफ्नो मातृभूमिभन्दा बाहिर बसेर हामीले हाम्रो पहिचान र एकतालाई मजवुद बनाउनका लागि प्रजातान्त्रिक प्रक्रियाबाट इच्छुक सबैको सहभागिता र सक्रियतामा अमेरिकाका लागि नयाँं नेतृत्व छनौट गर्न सफल भएका छौं । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश अमेरिकामा बसेर हामीले हाम्रो समुदायको हित, उन्नति र एकताका लागि जुन अभ्यास गरेका छौं यसले आगामी दिनहरुमा हाम्रो नेपाली समुदायलाई अझ सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याउने छ भन्ने मेरो अटल विश्वास छ ।’

उहाँले निर्वाचनका सबै उम्मेद्वारहरु एनआरएन अभियानका कुशल अभियन्ताहरु रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा सहभागी सबैप्रति आभार व्यक्त गर्नु भयो ।


प्रकाशित | १९ जेष्ठ २०७८, बुधबार ०९:५६