चितवन निकुञ्जमा ४१ वटा गैँडा मरे: मरेका गैँडामध्ये आधा कुहिएको अवस्थामा भेटिए

चितवन:  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ४१ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा मरेको र तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।

प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका रहेका छन् । अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १२:०२