राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सियानस्थित बौद्धमार्गीको पवित्र घोस प्यागोडा अवलोकन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सान्सी प्रान्तको सियानस्थित प्राचिन घोस प्यागोडाको अवलोकन गर्नुभएको छ । छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भण्डारीले स्थानीय समय अनुसार ९ः४५ बजे सियानस्थित प्राचिन घोस पगोडाको अवलोकन गर्नुभएको हो ।

विग वाइल्ड घोस प्यागोडा बौद्धमार्गीहरुको पवित्र स्थल मानिन्छ । सियान शहरबाट चार किलोमिटर दक्षिणमा रहेको यो प्यागोडाको निर्माण अलौकिक रहेको छ । राष्ट्रपतिलाई सियान शहरका चिनिया अधिकारीहरुले प्यागोडाको बारेमा जानकारी गराएका थिए । भ्रमणपछि राष्ट्रपतिले प्यागोडामा रहेको स्मरण पुस्तिकामा आफ्नो अनुभवसमेत लेख्नुभएको छ ।

राष्ट्रपति भण्डारीको सम्मानमा सान्सी प्रान्तका गर्भनर लिउ गाओझाङले द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन सेन्टरमा स्टेट ब्याक्वेट दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउसो वारियर म्युजियमको भ्रमण गर्नुहुनेछ । राष्ट्रपति भण्डारी सियानको भ्रमण सकेर आजै सांझ चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुहुनेछ ।

चिनियाँ समकक्षी सी जिन पिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी हिजो अपराह्न सान्सी प्रान्तको राजधानी सियान आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ११:४८