संसद विघटनविरुद्धका १९ रिटको सुनुवाइ आज

काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आज सुनुवाइ हुँदै छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ हुने शुक्रबार हुने छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।

सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।


प्रकाशित | १३ जेष्ठ २०७८, बिहीबार ०९:४६