एनआरएनएले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले सबै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको हो । संघका राष्टिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैर आवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गने भएको छ ।

त्यस्तै, एनआरएनएले यसअघि ५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकेको छ । यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको र सकेसम्म छिटो नेपाल पुर्याउने पहल भइरहेको जनाएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७८, मंगलवार ११:४१