रेल बिस्तारै बनाउँला, पहिला सडक सञ्जाल : चीन

काठमाडौँ : चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो ।

तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडकमार्गमार्फत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले अन्नपूर्णलाई जानकारी दियो । टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए ।

क्रसबोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाइ र खर्चिलो हुने भएकाले पहिला सडक सञ्जाल र नाका व्यवस्थित गर्न सुझाव दिएको हो । टोलीले सडक मर्मत र व्यवस्थित बनाउन चिनियाँ सहयोगका लागि पहल गर्ने आश्वासन दिएको बेइजिङस्थित एक उच्च अधिकारीले बताए । टोलीले यही विषयमा नेपाल सरकारसँग कूटनीतिक च्यानलमार्फत छलफल अघि बढाउने भएको छ ।

पर्यटनसम्बन्धी एक कार्यक्रममा सहभागी हुन तिब्बतबाट शुक्रबार काठमाडौं आएका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नेपालसँगको सहकार्यमा हिमालयन कनेक्टिभिटीअन्तर्गत सबैखाले सहकार्य खुला राखेको बताए । यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएको छ ।


प्रकाशित | ५ पुष २०७६, शनिबार १२:०६