पर्यटक आकर्षित गर्न दक्षिण एशियाकै ठूलो सिद्धगुफाभित्र गाउँपालिकाको बैठक

तनहुँ: पर्यटक आकर्षित गर्ने उद्देश्यले बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो सिद्धगुफाभित्र कार्यपालिकाको बैठक आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र आयोजना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक गुफाभित्र आयोजना गरिएको हो । गुफाभित्र बसेको बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको जानकारी  दिनुभयो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक।आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०७:२०