दोलखामा अक्सिजन प्लान्टका लागि मन्त्री गुरुङको पहल, दुई करोड ३५ लाख बजेट विनियोजन

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको पहलमा दोलखाका दूई अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न २ करोड ३५ लाख बजेट विनियोजन भएको छ । जिल्लाको चरिकोट अस्पताल र जिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न २ करोड ३५ लाख वजेट विनियोजन गरिएको हो । चरिकोट अस्पतालका लागि रु एक करोड ५५ लाख र जिरी अस्पतालका लागि ८० लाख रुपैयाँ विनियोजना भएको छ ।

त्यस्तै, मन्त्री गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गर्नु भएको छ । मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’ सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुग्ने गरी पठाउनु भएको हो ।

‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितहरुले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो’, उहाँले भन्नु भयो, ‘दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यकताका आधारमा वितरण गरिनेछ ।’


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार २१:१९