आइसियू, भेन्टिलेटर खरिद गर्न ४ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुहुँदै कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलले सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिने बताउनु भयो ।

त्यस्तै, कोभिड-१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने बिजुली महसुलमा ५० प्रतिशत छुट दिइने भएको छ । साथै कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने घोषणा गरेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:४८