वैकल्पिक सरकारको प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

काठमाडौं। वैकल्पिक सरकारका लागि प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमामा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले नयाँ सरकार बनाउन दावी पेश गर्नुभएको हो ।

ओलीले आफूलाई एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जना सांसदको समर्थन रहेको दावी गर्नुभएको छ । दावीमा एमालेका तर्फबाट संसदीय दलका नेता केपी शर्मा ओली, जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षर छ ।

यस्तै कांग्रेस सभापति देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी १ सय ४९ जना सांसदको समर्थन सहित दावी पेश गर्नुभएको छ । ओलीले दावी पेश गरे लगत्तै देउवाले पनि दावी पेश गर्नुभएको हो ।

जसपाको उपेन्द्र यादव समूहका १३ जना सांसद देउवाको पक्षमा उभिएपनि ओलीले राजेन्द्र महतो र महन्थ ठाकुरको सबै ३२ जनाको समर्थन रहेको दावी पेश गर्नुभएको छ ।

यस्तै एमालेकै नेपाल खनाल पक्षका केही सांसदले हस्ताक्षर दुरुपयोग गरेको भनेर आपत्ति जनाए पनि देउवाले माधवकुमार नेपालको आडमा २७ जनाको समर्थन र हस्ताक्षर सहित दावी पेश गर्नुभएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार १७:२०