राष्ट्रिय सभा उपनिर्वाचनमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले संक्रमित मतदाताले पनि भोट हाल्न पाउने व्यवस्था गरेको हो । मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने छ । ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार ०९:०६