मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा शूरु गर्यो एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन शूरु गरेको छ । प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का बिरामीलाई समेत दिन थालीएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएपछि प्लान्टबाट अक्सिजन पाइपमार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण शूरु गरिसकिएको बताउनुभयो ।

हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको नगर प्रमुख श्रेष्ठले बताउनभयो ।

प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्नेछ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो ।

नगरपालिकाले हाल ४२ वटा शय्या सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ । अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइँतलामा थप २० शय्या विस्तार गरिसकिएको छ । अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

१८ तारिखमा अमेरिकामा रहेको नेपाल इन्गेज नामक संस्था तथा नेपालका लागि पूर्वराजदूत स्कट डेलिसिले सहयोग सङ्कलन गरेर करिब ५५ लाखमा चीनबाट ४० वटा अक्सिजन उपकरण यस अस्पताललाई सहयोग आउने भएको छ ।  अमेरिकाका दाताहरुबाट विद्युतमा जोडेर अक्सिजन प्रवाह गर्न सकिने ‘अक्सिजन कन्सन्ट्रेटर’ ४० वटा तीन दिनभित्र आइपुग्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । आईसियू र भेन्टिलेटरमा राख्न नपर्ने आकस्मिक कक्ष तथा आइसोलेसनमा राखेर उपचार हुने बिरामीका लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान गरी अक्सिजन दिन सकिनेछ ।

अक्सिजन नभएकै कारण भर्ना भएका बिरामी फर्काउनुपर्ने अवस्थाको अब अन्त्य हुने र केही दिनमै २० शय्या थपेर कोभिडका कम्तीमा ६० बिरामीको उपचार गरिनेछ । हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शय्या सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमार्डौ महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । अस्पतालमा हाल दुई वटा पोर्टेबल भेन्टिलेटर सञ्चालनमा छन् ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार ०८:३९