पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको छ । एकैदिन ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो । विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ ।


प्रकाशित | १ जेष्ठ २०७८, शनिबार ०८:५०