आगामी रणनीति बनाउन विपक्षी दलहरु देउवा निवासमा छलफलमा जुटे

काठमाडौँ । आगामी रणनीति बनाउन विपक्षी दलहरु छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल चलिरहेको छ ।

वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुको कारणबारे पनि छलफलमा समीक्षा भइरहेको छ । देउवा, प्रचण्ड र उपेन्द्रबीच वैकल्पिक सरकार बनाउने प्रयास हिजो असफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार निर्माणका लागि आह्वान गर्नु भएको थियो । तर दलहरुले बहुमत दाबी पेस गर्न सकेनन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले हिजो नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । अब ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १३:१९