पीसीआर रिपोर्ट आउन ढिलाइ, क्वारेन्टाइनमा बसेकामा अत्यास

शिवराज ढुङ्गाना /अछाम

बान्नीगढी जयगढ गाउँपालिकाका १० जनाको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि जेठ १८ गते हतारहतार धनगढी पठाइयो । त्यसको दुई दिनपछि राती मेल्लेख गाउँपालिकाका ९९ जना र चौरपाटी गाउँपालिकाका ६४ जनाको स्वाब परीक्षणकै लागि प्रादेशिक अस्पताल धनगढी पठाइयो । स्वाब सङ्कलन गरेको १० दिन पुग्नै लाग्दासमेत रिपोर्ट आएको छैन ।

सङ्कलन गरेर जेठ १८ गतेबाट २४ गतेसम्म धनगढीमा पीसीआर परीक्षणका लागि पठाइएका २६६ थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका मेल्लेख गाउँपालिकाका ९९ जना र चौरपाटी गाउँपालिकाका ६४ जना, ढकारी, बान्नीगढी जयगढ गाउँपालिकाका दश/दश जना, साँफेबगर नगरपालिकाका २७ जना, तुर्माखाँद गाउँपालिकाका १३ जना, पञ्चदेवल विनायक नगरपालिकाका चार जना, कमलबजार नगरपालिकाका एक जना र अछाम जिल्ला अस्पतालका ३८ जनाको स्वाबको रिपोर्ट आएकाे छैन ।

थ्रोट स्वाब सङ्कलन गरेर पठाएको १०  दिन पुग्नलाग्दा क्वारेन्टाइन अवधि पूरा गरेर पनि घर जान पाएका छैनन् । “क्वारेन्टाइनमा बस्न थालेको झण्डै एक महिना हुन लाग्यो । रिपोर्ट नआएका कारण घर पठाउन सकिएको छैन ।” ९९ जनाको स्वाब सङ्कलन गरिएको वडा रहेको मेल्लेख गाउँपालिका–४ कुष्कोटका अध्यक्ष वीरबहादुर साउँदको भनाइ छ ।

थ्रोट स्वाबको रिपोर्ट समयमै नआउँदा स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समेत सकस झेलिरहेका छन् । रिपोर्टको पर्खाइमा रहेका व्यक्ति क्वारेन्टाइनकै बास बस्न बाध्य छन् । पीसीआरको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा चौरपाटी गाउँपालिका–२ का अध्यक्ष नारायण साउद बताउनुहुन्छ ।

जिल्लामा कोरोना सङ्क्रमण परीक्षणका लागि प्रयोगशाला नहुँदा रिपोर्टका लागि हप्तौँ कुर्नुपर्ने बाध्यता रहेको हुन्छ । आरडीटी परीक्षणमा पोजिटिभ देखिएका र कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको समयमै रिपोर्ट नआउँदा अन्यौल भएको छ । “ठाउँठाउँबाट रिपोर्ट के भयो भनेर भन्छन् । अहिलेसम्म आएकै छैन भन्नुबाहेक केही उत्तर छैन ।” स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले भन्नुभयो । परीक्षणका लागि स्वाबको नमूना सङ्कलन भएको व्यक्ति, घरपरिवार र उसैसँग क्वारेन्टाइनमा रहेका व्यक्तिमा रिपोर्ट नआउँदासम्म त्रास रहने गरेको बताइएको छ ।

थ्रोट स्वाब परीक्षण गर्ने मेसिनको अभावमा रिपोर्ट आउन ढिलाइ भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । “धेरै स्वाब क्युमा भएकोले ढिलाइ भइरहेको छ ।” सूचना अधिकारी श्रेष्ठल भन्नुभयो । एउटा मेसिनले एक दिनमा २७५ जनासम्मको परीक्षण भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले केही दिनअघि नौवटै जिल्लामा पाँच दिन स्वाब सङ्कलन रोक्न पत्र पठाएको छ ।

अछाममा हालसम्म ७४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएकोमा ४७६ जनाको रिपोर्ट आइसकेको छ । अछाममै स्वाब सङ्कलन गरेर पठाएकोमा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिका–४ मा आठ जना, मङ्गलसेन नगरपालिकामा दुई जना, चौरपाटी गाउँपालिकामा तीन जना, साँफेबगर नगरपालिकामा एक जनामा हालसम्म कोरोना पुष्टि भएको छ । भारतबाट घर फर्किने क्रममा मेल्लेख गाउँपालिकाका बुवाछोरीमा धनगढीमै कोरोना पुष्टि भएको थियो ।

भीटीएम र आरडीटी अभाव

थ्रोट स्वाब सङ्कलनमा प्रयोग हुने भीटीएमको अभावका कारण सङ्क्रमितसँगै क्वारेन्टाइनमा रहेका, आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिलाई तत्काल परीक्षण गर्न सकिएको छैन । मङ्गलबार कोरोना पुष्टि भएकी चौरपाटी गाउँपालिका–५ मा क्वारेन्टाइनमा सँगै रहेका ५० जना र शनिबार मङ्गलसेन नगरपालिका–१ की महिलासँगै क्वारेन्टाइनमा रहेका ६४ जना र आरडीटी परीक्षणमा पोजिटिभ देखिएका ९१ जनामाको स्वाब सङ्कलन हुन नसकेको सूचना अधिकारी जोशीको भनाइ छ । “दुई सयभन्दा बढीको त तत्काल स्वाब सङ्कलन गर्नुपर्ने थियो तर भीटीएम नभएर रोकिएको छ ।” जोशीले भन्नुभयो । भारतलगायत जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा १४ दिन पूरा भएका व्यक्तिमा किटको अभावमा आरडीटी परीक्षणसमेत हुनसकेको छैन । बन्दाबन्दी (लकडाउन) अवधिमा अछाममा १२ हजार पाँच सयभन्दा बढी मानिस भित्रिएका छन् । स्रोत- गोरखापत्र अनलाइन


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १७:४२