कांग्रेस सभापति देउवाको प्रश्न- प्रधानमन्त्रीलाई देश र जनताको पक्षमा काम गर्न कसले रोक्यो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्पूर्ण कार्यकारी अधिकार पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्न कहाँ कसले रोक्यो भन्दै प्रश्न गर्नुभएको छ । संसदमा सम्बोधन गर्दै सभापति देउवाले नेपाली जनताहरु कोभिडको कारण अक्सिजन नपाएर, अस्पतालमा बेड नपाएर ज्यान गुमाइरहँदा पनि सरकार जिम्मेवारीबाट भाग्न खोजेको बताउनुभयो ।

‘देशमा कोरोना संक्रमणको महामारी आउनुमा सरकार पूर्ण दोषी छ’, देउवाले भन्नुभयो, ‘सरकारले बेलैमा काम गरेको भए यो अवस्था आउने थिएन, यो सरकारको गैर जिम्मेवारीको पराकाष्ठ हो ।’ अहिलेसम्म न्यून ब्यक्तिहरुलाई मात्र कोरोना खोप लगाउनु र खोप खरिदमा कमिसनको चलखेल हुनु तथा भष्टाचार हुनुले सरकारको नैतिक चरित्र उदांगो भइसकेको बताउनुभयो ।

‘औषधिमुला नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भनेर प्रधानमन्त्री आफैले भन्ने र आफना जनतालाई अक्सिजनसमेत ब्यवस्था गर्न नसकेर जनताले अकालमा ज्यान गुमाइरहनु यो भन्दा निलज्जता र लाजमज्दो कुरा के हुन सक्छ’ ? उहाँले आक्रोश ब्यक्त गर्दै भन्नुभयो ।


प्रकाशित | २७ बैशाख २०७८, सोमबार १५:००