थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट: नेपालको लगातार दोस्रो जित

काठमाडौं: थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

 थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुँदै १०२ रन बनायो । मलेसियाका लागि सार्भिन सुरेद्रनले अविजित रहदै सर्वाधिक ४६ रन बनाए । यस्तै अमहेद अस्यार्फले १७ रन बनाए । किशन कुमारले ११ रन बनाए । नेपालका रमेश कुर्मी, तिलक राज भण्डारी र प्रसान्त महतले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १४१ रन बनाएको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ तथा विशाल बिक्रम केसीले २८ रन बनाए । यस्तै दिपक बोहोरा र अर्जुन कुमालले समान १६/१६ रन जोड्दा सुवास ऐरले ११ रन बनाए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ४ तथा लुकम्यान नुर हाकिम सहरले २ विकेट लिए । जितसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल सेमिफाइनल नजिक पुगेको छ । यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस समूहमा मलेसियाको पनि ४ अंक रहेको छ ।

साविकको विजेता समेत रहेको नेपालले अब अन्तिम खेलमा बिहिबार आयोजक थाइल्याण्डसंग खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १४:५६