गैर आवासीय नेपाली संघ हङकङद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली समुदायका महत्वपूर्ण विषयमा केन्द्रित भएर अन्तरक्रिया कार्यकमको आयोजना गरेको छ । संघले नेपाली महावाणिज्य दुतावास हङकङ तथा नेपाल वायु सेवा निगम, संघका संरक्षक, सल्लाहकार, पूर्व अध्यक्षहरु, ४५ वटा भन्दा बढी नेपाली संघसंस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा प्रतिनिधिमूलक अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपालमा लगानी र रेमिट्यान्सको सम्भावना र चुनौती, नेपालको पर्यटन प्रवद्र्धन, गैर आवासीय नेपाली नागरिकता र नेपालमा रहेको अचल सम्पत्तिको सुरक्षाका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रमको अध्यक्षता एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ्गले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली महावाणिज्य दुतावास हङकङका महावाणिज्यदुत उदय बहादुर राना मगरले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङ्गले विदेशमा रहेका नेपालीहरुको समस्यामा एनआरएनए सधै साथमा हुने बताउनु भयो । उहाँले नेपालमा बाढी, पहिरो, भूकम्प लगायतका विपत्तिमा पनि एनआरएनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालीको पिडामा मल्हम लगाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपालका विभिन्न दुर्गम बस्तीमा महिला तथा बालबालिकाहरुलाई शिक्षा तथा सीपमुलक तालिम प्रदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङ्गले स्वास्थ्य सम्बन्धि पनि विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो ।

यस्तै नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न पनि एनआरएन उत्तिकै सक्रिय रहेको स्पष्ट पार्नु भयो । गैरआवासीय नेपालीहरुको समस्या पहिचान गरी समाधानमा पनि उत्तिकै कटिबद्ध रहेको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

पछिल्लो समय कोभिडका कारण रोजगारी गुमाएका समस्यामा परेका धेरै गैर आवासीय नेपालीहरुलाई एनआरएनएले स्वदेश फर्काएको पनि उहाँले बताउनु भयो । नेपालीहरुको जस्तोसुकै कठिन घडीमा पनि एनआरएनए साथमा रहने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विशेष अतिथि नेपाली महावाणिज्य दुतावास हङकङका वाणिज्यदुत किरण कुमार गुरुङ्ग र गैर आवासीय नेपाली संघ हङकङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका भूतपूर्व अध्यक्ष तथा आईसीसीका सल्लाहकार यम कुमार गुरुङ्ग (त्रिलोक), संस्थाका भूतपूर्व अध्यक्षहरु दुर्गा बहादुर गुरुङ्ग, ललित बहादुर सुब्बाको उपस्थिती रहेको थियो ।

यस्तै गैर आवासीय नेपाली संघ आईसीसीका भूतपूर्व कोषाध्यक्ष तेज प्रकाश पुन, गैर आवासीय नेपाली संघका आईसीसी सदस्य दिलिप बहादुर गुरुङ्ग, आईसीसी सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ङ्यासुराम पराजुली, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, नेपाली आदीबासी जनजाती महासंघका अध्यक्ष किसन राई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ हङकङका उपाध्यक्ष किसन राइले स्वागत मन्तब्य प्रस्तुत गर्दै गैर आवासीय नेपाली नागरिकतबारे अझै अन्यौल रहेको बताउनु भयो । नेपालमा रहेको सम्पत्तिबारे दैनिकजसो प्रश्न आइरहेको उल्लेख गर्दै अन्तरक्रिया मार्फत जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रम विभिन्न ३ सेसनमा गरीएको थियो । जसमा पहिलो सेसनमा नेपालमा पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाल पर्यटनको प्रचुर सम्भावना भएपनि विश्व मा अझै चिनाउन नसकेको भन्दैं चिन्ता व्यक्त गरेका थिए । साथै नेपालको पर्यटन प्रवद्र्धनमा सबै लाग्नु पर्नेमा उपस्थित वत्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपाल–हङकङ हवाई भाडा तथा अन्य विविध समस्याहरुबारे पनि छलफल गरिएको थियो । कार्यक्रमका अन्य २ सेसनहरुमा पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण गैर आवासीय नेपाली संघ हङकङका महासचिव गोकर्ण ढकालले गर्नु भएको थियो । कार्यक्रमको घोषणपत्र सोमबार सार्वजनीक गरिने महासचिव ढकालले बताउनुभयो ।


प्रकाशित | २६ बैशाख २०७८, आईतवार १८:२०