काठमाडौँ । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गतेदेखि २२ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा छुट्टाछुट्टै जारी आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
के–के खुल्छन् ?
अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।
ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् । त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा कुनै रोक हुने छैन ।
सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामाग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।
के खुल्दैनन् ?
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । तीन जिल्लाको जारी आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।
बैशाख १६ गतेदेखि एक सातासम्म निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।
प्रकाशित | १४ बैशाख २०७८, मंगलवार ०९:३५