भारतबाट मल ल्याउन सम्झौताको तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ ।
सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतबाट युरिया र डीएपी रासायनिक मल मात्र ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने भनी जीटुजी सम्झौता गरेको थियो । त्यसमध्ये २२ हजार पाँच सय मेट्रिक टन नेपाल ल्याइसकेको छ । दोस्रो लटको १० हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ । त्यस्तै टेन्डरमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल नेपालले ल्याइसकेको छ ।
भारतमा उत्पादन हुने मल नै नेपाललाई दिन नेपाल सरकारले भारतसँग प्रस्ताव गरेको छ । त्यसैगरी यसपालि मलको अभाव हुन नदिने गरी मन्त्रालयले विशेष तयारी थालेको छ ।

सरकारले रासायनिक मलको कारखाना खोल्ने प्रक्रिया पनि सुरु गरिसकेको छ । अगामी छ वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने गरी तयारी सुरु भएको हो । लगानीको सुनिश्चित हुने बित्तिकै अन्य प्रक्रियामा जाने मन्त्रालयले जनाएको छ । साथै रासायनिक मल बिक्री वितरणलाई व्यवस्थित गर्नका लागि कृषि मन्त्रालयले निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ । आवश्यक मल भण्डार गर्नका लागि सातवटै प्रदेशमा शीत भण्डार बनाउने तयारी पनि मन्त्रालयको रहेको छ । पहिलो चरणमा विराटनगर, वीरगञ्ज र भैरहवामा बनाउन लागेको कृषि मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ६ बैशाख २०७८, सोमबार ०८:२९