देशभर अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ:  देशभर अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन सक्रिय रहनेछ ।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १०:०४