काठमाडौँमा कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौँ । ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदुरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउनु भयो । कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो ।

सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्नु हुन महाशाखाले विशेष अनुरोध समेत गरेको छ । महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ ।


प्रकाशित | ३० चैत्र २०७७, सोमबार १५:३३