लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिने

लाप्राक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राख्ने भएको छ । संघले बस्ती निर्माणमा सहयोग गर्ने गैर आवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकम सहितको शिलापत्र राख्ने भएको हो । जसको लागि शिलापत्र राख्ने स्थानको समेत निर्धारण गरिएको छ ।

संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामा, एनआरएनए जर्मनीबाट आइसिसी सदस्य टंक लम्सालसहितको टोलीले वडा तथा गाउँपालिकाको सहमतिमा शिलापत्र राख्ने ठाउँ तय गरेको हो ।

शिलापत्र राख्ने स्थानको तय गरेपछि सामूहिक तस्विर लिइँदै

सो अवसरमा लाप्राक नमूना बस्तीमा भएका निर्माण सम्बन्धि कामहरुको अवलोकन समेत गरिएको छ । परियोजनामा भएका कार्यहरुको प्रगती बारे परियोजनामा कार्यरत कर्मचारीहरु, लाभग्राहीहरु र सरोकारवालाहरु सँग भेट गरी जानकारी लिइएको र बस्तीमा बाँकी रहेका कामहरु यही चैत्रको अन्तिममा सकिएर सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने संयोजक लामाले बताउनुभयो ।

त्यस्तै, बस्तीमा सबै घरहरुको छाना एकरुपको रहने भएको छ । उक्त बस्तीको हस्तान्तरण यही आउने २०७८ बैशाख १२ गते हुने तय भइसकेको छ । यसका लागि आवश्यक कार्यहरु भईरहेको संघका उपाध्यक्ष लामाले जानकारी गराउनुभयो ।


प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार १६:४१