बङ्गलादेशसँग चार सम्झौता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्नुहुँदै भन्नुभयो, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।”

दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औँल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापार अवरोधको उन्मूलन, पूर्वाधार विकास र सहज बजार पहुँचले व्यापारमा उल्लेख्य वृद्धि गर्न सक्छ ।” उहाँले सहयोग आदानप्रदानको अर्को महŒवपूर्ण ऊर्जा क्षेत्र रहेकाले त्यसमा थप सहकार्यको आवश्यकतामा जोड दिनुभयो । नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यासले दुवै देशको विकासको आवश्यकतालाई टेवा पु¥याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो । त्यसका लागि नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय सहयोग सुदृढ तुल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले सम्पर्क सञ्जालको विस्तारका लागि विद्यमान काठमाडौँ–ढाका उडान थप गर्ने, बङ्गलादेशको सैयदपुर र नेपालको विराटनगर जस्ता प्रमुख क्षेत्रीय सहरलाई उडानले जोड्न सकिने सम्भावना उल्लेख गर्नुभयो । त्यस्तै उहाँका अनुसार नेपाल, भारत र बङ्लादेशको नदीमा जलमार्गको विस्तार गर्न सकिनेछ । सडकमार्ग स्तरोन्नति, रेल्वेको विकासले पनि सम्पर्क सञ्जालमा बल पु¥याउनेछ ।

रोहनपुर सिंहबाद रेल्वे रुटलाई ‘पोर्ट अफ कल’का रूपमा समावेश गर्ने प्रक्रिया अगाडि बढेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्नुभयो । उहाँले मानव संसाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले यी बहुमूल्य स्रोतको उपयोग गरी जनताको समृद्धि र खुसीमा रूपान्तरण गर्नुपर्ने सुझाउनुभयो । आपसी सहयोग र समर्थनका माध्यमबाट बहुपक्षीय मञ्चमा साझा चासोका विषय प्रवद्र्धन गर्ने साझेदारीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटनमा साझेदारीलाई जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “बङ्गलादेशी पर्यटकले हिउँले ढाकेका पहाड, हरिया उपत्यका, समृद्ध जैविक विविधता, ऐतिहासिक पुराताŒिवक र सांस्कृतिक स्थलहरूको भ्रमण गर्न सक्छन् । नेपाली पर्यटकले सुन्दर समुद्री तट र सांस्कृतिक स्थलको भ्रमण गर्न सक्छन् ।” जलवायु सङ्कटमा नेपाल र बङ्गलादेश दुवै रहेकाले मौसमी विपत्तिको सम्बोधन गर्न द्विपक्षीय सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।

मङ्गलबार राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्नुहुने कार्यक्रम छ । यो समाचार आजको गोरखापत्र दैनीकमा छ ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार ०८:४८