काठमाण्डौ उपत्यकाका पालिकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द

काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्रका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । काठमाण्डौ उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको सङ्गठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म फेरि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै कलकारखाना, उद्योग धन्दा, निर्वाध रुपमा सञ्चालन भइरहँदा सङ्क्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वरेण्टीनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको हो ।


प्रकाशित | २६ श्रावण २०७७, सोमबार १९:३१