उपनिर्वाचन: मौन अवधि लागू

काठमाडौँ -आइतबार हुने उपचुनावअन्तर्गत वैशाख ७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको छ। बारा २, तनहुँ १ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल मौन अवधि रहन्छ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको आयोगले जनाएको छ । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानूनमा उल्लेख छ  ।


प्रकाशित | ८ बैशाख २०८०, शुक्रबार ०८:२०