बादलसहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफनो पार्टीबाट मन्त्री बनेकालाई तत्काल मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

माओवादीका तर्फबाट गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा हुनुहुन्छ ।

त्यस्तै, मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेपछि आज बसेको माओवादी केन्द्रको बैठकले सो निर्णय गरेको हो ।


प्रकाशित | २९ फाल्गुन २०७७, शनिबार १०:३४