युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेपनि युभेन्टस बाहिरिएको हो ।

अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४-४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ ले हराएको थियो ।

युभेन्टसको मैदानमा रोमान्चक बनेको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १-१ को बराबरीमा ल्याए ‌। खेलको ५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

खेलको ६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । किएजाको गोलसँगै खेल समग्रमा ३(३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २-२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर, यस जितले युभेन्टसलाई क्वाटरफाइनलमा पुर्याउन भने सकेन ।

यससँगै युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।


प्रकाशित | २६ फाल्गुन २०७७, बुधबार ११:०३