चुनावको व्यापक तयारीमा जुट्न मन्त्री पार्वत गुरुङको निर्देशन

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङले सरकारले घोषणा गरेको मितीमै चुनाव हुने भन्दै चुनावको ब्यापक तयारीमा लाग्न निर्देशन दिनुभएको छ । संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुहुँदै मन्त्री गुरुङले त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्याउन पनि कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

उहाँले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त पनि गर्नुभयो ।

सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दोलखामा कम्युनिष्ट पार्टीका पुराना लोकप्रिय नेता जीतविर लामासहित सवैजसो नेताहरुको सहभागिता रहेको थियो ।


प्रकाशित | १७ माघ २०७७, शनिबार २०:५७