गैर आवासीय नेपाली संघमा के-के थपिए पदहरु ?

काठमाडौ । दुई दिन सम्म चलेको गैर आवासीय नेपाली संघको विशेष महाधिवेशन सम्पन्न भएको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेम राज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो । सोे प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको एनआरएनएले जनाएको छ । विशेष महाधिवेशन अगावै संघमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवादीत विषयमा सहमती भएपछि विशेष महाधिवेशनमा अधिकांश प्रस्ताव सर्वसम्मत पारित गरिएको हो ।

अब संघमा दुई सह–कोषाध्यक्ष थपिएको छ त्यसमा एक महिला अनिवार्य गरिएको छ । क्षेत्रीय युवा उपसंयोजक थपिएको छ भने निर्वाचन समिति संख्या आवश्यकताअनुसार राख्ने, पाँच सदस्यीय निर्वाचन अनुगमन समिति बनाइने, एक महिलासहित २ जना सचिव थपिने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना कायम गर्ने, पेशागत तथा शैक्षिक समन्वय इकाई गठन प्रावधान राखिएको छ ।

यस्तै क्षेत्रीय महिला उपसंयोजक थपिने, निर्वाचन अनलाइन माध्यमबाट गरिने, आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति कारबाहीमा पर्ने, केन्द्रीय प्रतिनिधि चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने र अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान राखिएको छ ।

संशोधित विधानमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिनाभित्र गरि सक्नुपर्ने , केन्द्रीय प्रतिनिधिको नामावली १५ अगष्टसम्म सार्वजनिक गर्नुपर्ने, थप एक युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । त्यस्तै, महाधिवेशनले संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न सुझाव दिनको लागि गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता, प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष एवं अन्य संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, संरक्षक रामप्रताप थापा, सल्लाहकारहरु टिबी कार्की, कुल आचार्य, एसी शेर्पा, हरिबोल भण्डारी, संघ अन्तर्गतका राष्टिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधिहरु तथा नेपाली कांग्रेस नेता गोविन्द भट्टराई लगायत अन्य शुभचिन्तकहरुको सहभागिता रहेको थियो । महाधिवेशनमा विश्भरबाट २६ सय बढी प्रतिनिधिको सहभागिता थियो ।


प्रकाशित | १२ माघ २०७७, सोमबार ०९:५०