कोरोना सङ्क्रमितमा मनोबल बढ्दै

बुटवल : कोरोना जितेर घर फर्किएकाको खुसीसँगै उपचार गराइरहेकाको पनि मनोबल उच्च रहेको छ । उपचारपछि घर फर्किएकाको सुखद प्रतिक्रिया र आफूहरू उपचार भइरहेको वातावरणले मनोबल उच्च भएको सङ्क्रमितको प्रतिक्रिया रहेको स्वास्थ्य अधिकारीले जनाउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशङ्कर चौधरीले पहिले सबैमा डर रहे पनि सङ्क्रमणमुक्त भएका र सङ्क्रमितमा पछिल्ला दिनमा साहस र मनोबल बढेको देखिएको बताउनुभयो ।

नेपाल प्रहरीका प्रदेश ५ प्रवक्ता राजकुमार बैदवारले पहिले निकै हाउगुजीमा रहेका सङ्क्रमितमा अहिले मनोबल उच्च भएको बताउनुभयो ।

सामान्य बन्दै छ वातावरण

बाँके समाचारदाता र नेपालगञ्ज समाचारदाताका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित जोलहनपुरवाको अवस्था सामान्य हुन थालेको छ ।

सङ्क्रमितमध्ये अधिकांश उपचारपछि घर फिर्ता हुनुभएको छ । वडा नम्बर ७ मा ६० वर्षीय पुरुषमा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा वडा नम्बर ८ जोलहनपुरवाका थप २४ जनामा सङ्क्रमण देखिएको हो ।

जोलहनपुरवालाई जिल्ला प्रशासन कार्यालयले सिल गरेकोमा अधिकांश बिरामी उपचारपछि घर फिर्ता भएपछि अवस्था सामान्य भएको स्थानीय बासिन्दा एवम् नेपालगञ्जका पूर्वउपप्रमुख सम्सुद्दिन सिद्धिकीले जानकारी दिनुभयो । २५ सङ्क्रमितमध्ये २४ जना कोरोना जितेर घर फिर्ता भइसक्नुभएको छ ।

नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषमा वैशाख १९ गते सङ्क्रमण देखिएको हो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा वैशाख २१ गते १६ र वैशाख २३ गते ७ र वैशाख ३१ गते एक गरी नेपालगञ्ज–८ का २४ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले नेपालगञ्जमा सबैभन्दा पहिले सङ्क्रमण देखिएका अधिकांश अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो ।

‘नेपालगञ्जमा एकसाथ धेरैजना उपचारपछि घर फिर्ता भएपछि अन्य सङ्क्रमणमा परेका व्यक्तिमा पनि मनोबल बढेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘हाल एकान्तवासमा भएकाको स्वाब सङ्कलनको तयारी गरिएको छ । नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पतालमा रहेका २३ जना सङ्क्रमितको मङ्गलबार स्वाब सङ्कलन गरिएको छ ।’

कोषबाट कीट किन्न आग्रह

रूपन्देही समाचारदाताका अनुसार सांसद विकास कोषका नाममा सांसदलाई बाँडिने रकमले कोरोना परीक्षण कीट खरिद गर्न साझा पार्टी प्रदेश ५ समितिले आग्रह गरेको छ । प्रदेश ५ मा कोरोना सङ्क्रमणको दर देशभरमै उच्च रहेको र अझै थपिने अवस्था रहेकाले परीक्षणको दायरा बढाउन सांसद विकास कोषको रकम कीट खरिदमा लगानी गर्न साझा पार्टीले आग्रह गरेको हो । पार्टीका प्रदेश संयोजक अनुपमान सैँजूले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

कोरोना जितेर घर

तम्घास समाचारदाताका अनुसार गुल्मीमा कोरोना जितेर घर फर्किएका ३१ वर्षका बैङ्क कर्मचारीले कोरोनालाई सहजै रूपमा जितेको बताउनुभएको छ । मदाने गाउँपालिका–६ पुर्कोट दहका कोरोना सङ्क्रमित ४१ वर्षीय मृतक शिक्षकको सम्पर्कमा आएका उहाँको प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जेठ १० गते सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँले १० दिनमै कोरोना जितेर घर फर्किनुभयो । उहाँको सदरमुकाम तम्घासमा रहेको एकान्तवासमा राखेर उपचार गरिएको थियो । उहाँले आफूलाई कोरोना लागेजस्तो केही अनुभूति नभएको भन्दै कोरोनालाई आत्मबल बलियो बनाए सहजै जित्न सकिने बताउनुभयो ।

यसैबीच, गुल्मीमा थप एकमा कोरोना सङ्क्रमण देखिएको छ । प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रेसुङ्गा नगरपालिका वडा नं १० का २६ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमित भारतबाट आएका

देउखुरी समाचारदाताका अनुसार दाङमा सोमबार थपिएका नौजना कोरोना सङ्क्रमित भारतबाट आएको पुष्टि भएको छ । सबै सङ्क्रमित घोराही उपमहानगरपालिकाको रामपुर क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् । सात पुरुष र दुई महिला गरी नौजनामा कोरोना पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर जाँचमा घोराही–२ निवासी ४६ वर्षीय, सोही ठाउँका ४० वर्षीय पुरुष, ४५ वर्षीय पुरुष, २६ वर्षीय पुरुष, १९ वर्षीया महिलामा घोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै घोराही–१७ का २० वर्षीय पुरुष, घोराही–१ का ३० वर्षीय पुरुष, सोही ठाउँकी ११ वर्षीया बालिका र वडा नं. ५ का ५३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रविधिमैत्री बन्दै साहित्यकार

बुटवल समाचारदाताका अनुसार बन्दाबन्दीबीच पनि सामाजिक दूरी कायम गर्दै प्रगतिशील लेखक सङ्घ नेपाल रूपन्देहीको बैठक सम्पन्न भएको छ । बैठकमा कोरोनाले साहित्यकारलाई प्रविधिमैत्री बनाएको र सो प्रविधिमैत्री अवसरलाई प्रगतिशील लेखनमा प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रलेस, नेपाल–५ नम्बर प्रदेशका संयोजक केशव थापाले नेपालमा कोरोनाले नकारात्मकमात्र नभई केही अवसर ल्याएको बताउनुभयो । सो अवसरमा प्रलेसका केन्द्रीय सदस्य मीनबहादुर राना, प्रलेस नेपाल रूपन्देहीका अध्यक्ष दलबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।

बन्दाबन्दीमै नगर सभा

भैरहवा समाचारदाताका अनुसार सिद्धार्थनगर नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न भएको छ । सभामा नगरप्रमुख हरिप्रसाद अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ । सभामा चालु आर्थिक वर्षमा हालसम्म भएका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको हो ।
आजको गोरखापत्र दैनीकबाट


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार ०७:१०