भ्रममा नपर्नुस, प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापना हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरु तत्काल पुन: गठन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको हो । सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा आगामी निर्वाचनमा पार्टीले दुई तिहाई ल्याउने गरि अगाडि बढ्न प्रधानमन्त्री ओलीले यसअघि नै निर्देशन दिइसक्नुभएको छ ।

‘प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन पनि ओलीले आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको स्पष्ट पार्नुभयो ।

‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु, हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु’, नेकपा ओली समूहको नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै भन्नुभयो ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमितता अब हुँदैन ।’


प्रकाशित | ६ माघ २०७७, मंगलवार १६:०५