नेपालमा एकै दिन ३१२ कोरोना संक्रमित डिस्चार्ज, थप ४३४ जनामा संक्रमण

काठमाडौं : नेपालमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ३१२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ ।

त्यस्तै, बिहीबार थप ४३४ कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार थप ४३४ सहित कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

थप दुईको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको निधन भएको हो। उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११ :३५ बजे निधन भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।


प्रकाशित | ११ असार २०७७, बिहीबार १६:३२