के हुँदै छ नेपालमा खोप ल्याउने तयारी ?

कोभ्याक्स मात्र कुरेका छैनौं,भारत र चीनसँग पटकपटक कुरा भएको छ

काठमाडौं । सरकार कोभ्याक्सले उपलब्ध गराउने कोरोना विरूघ्दको खोपको मात्रै भरमा नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाका प्रमुख डा= झलक शर्मा गौतमले नेपालमा भण्डारण गर्न सक्ने प्रकृतिको खोप भारत, चीनमा उत्पादन भैसकेको र त्यसले चौथो चरण समेत पार गरेकाले सरकारले सकेसम्म छिटो नेपालमा खोप भित्राउने तयारीमा लागेको डा. शर्माले बताउनुभयो ।

कोभ्याक्सबाट आउने खोप कुरेर नबस्ने बताउँदै उहाँले नेपाल सरकारले खोप उत्पादन गरेको देश र खोप उत्पादन गरिरहेको कम्पनीसँग समयमै खोप ल्याउन कुटनीतिक पहल सुरु गरेको बताउनुभयो । नेपाल सरकारले सिधै र दुतावासमार्फत भारत, चीनसँग पटक–पटक कुरा गरिसकेको छ । कोभ्याक्सले उपलब्ध गराउने खोप सन् २०२१ को अप्रिलसम्म मात्रै आउने औपचारिक जानकारी नेपाल सरकारले पाएकाले त्योभन्दा पहिलानै नेपालमा भण्डारण गर्न मिल्ने खोप ल्याउने तयारीमा लागेको छ ।

‘हामीले नेपालको तर्फबाट हुन सक्ने सबै संयन्त्रहरुको परिचालन गरेका छौ’ उहाँले थप्नुभयो,‘ नेपालले कोभ्याक्सले उपलब्ध गराउने खोपमात्रै हामी कुरेर बसेका छैनौ ।’ उहाँले केही देशका कम्पनीहरुसँग अन्तिम छलफलमा रहेको समेत भन्नुभयो । तर उहाँले कुन देशको कम्पनीसँग कुरा भैरहेको बताउनुभएन ।

भारतमा इमर्जेन्सी भ्याक्सिनेसनका लागि अनुमति पाइसकेका सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरिरहेको एस्ट्राजेनेका र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खरिदका लागि छलफल भैरहेको उहाँले बताउनुभयो । तर छलफलकै चरणमा रहेकाले कहाँबाट ल्याउने अन्तिम निर्णय भने नभएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालमा ल्याएर खोप भण्डारणका लागि तापक्रम मिल्ने रस्टोरेज गर्न सक्ने भएकाले पनि यी दुई कम्पनीका खोप ल्याउन सरकारले कुटनीतिक पहलसँगै छलफल तिव्र गतिमा भैरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघिनै खोप उपलब्ध गराउने बिषय उल्लेख गरेर भारतीय समकक्षी डा। एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीलाई चिठी लेख्नु भएकोथियो ।

चार चरणमा खोप लगाउने तयारी

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो ।

‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशतले हुन आउने करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने तयारी छ ।

पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा। शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।

५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा। शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा। शर्माले भन्नुभयो ।

नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा। शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २७ पुष २०७७, सोमबार ०७:५०