एमालेको रगत र पसिनाले बनाएका कुनै पनि पार्टी कार्यालयमा आँखा नलगाउन प्रचण्डलाई बस्नेतको चेतावनी

रुकुम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले तत्कालिन माओवादी केन्द्रको आधार इलाकाको रुपमा रहेको रुकुम पुगेर पुष्प कमल दाहाल प्रचण्डलाई खुल्ला चुनौति दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुकुमले मुसिकोटमा आयोजित कार्यक्रममा वृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाको हुनेमा कुनै संका नभएको उल्लेख गर्नुभयो । तत्कालिन माओवादीको हसिया हथौडा चिन्हले चुनाव लडेर जनताको मत जित्न प्रचण्डलाई चुनौति दिँदै नेता बस्नेतले तत्कालिन एमालेको चुनाव चिन्ह सूर्य नेपाली जनताको मन मुटमा रहेकाले त्यसमा आँखा नलगाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हृदयस त्रिपाठीले पनि सूर्य चिन्हबाट नै निर्वाचन चित्नुभएको हो । त्यसैले प्रचण्डले सूर्य चिन्ह पाउनलाई दुई वटा शर्त पुरा गर्नुपर्छ । त्यसपश्चात सूर्य चिन्ह दिन सकिन्छ । जसमा पहिलो कि केपी ओलीले नेतृत्व गरेको पार्टीमा प्रवेश गर्नुपर्छ, दोस्रो स्वतन्त्र चुनाव लड्नुपर्छ । यी शर्त पुरा गरेमा प्रचण्डलाई चुनाव लड्को लागि सूर्य चिन्ह दिन सकिन्छ । नत्र सूर्य चिन्ह पाउने सपना नबनाउनुस् ।’

प्रचण्डले सूर्य चिन्ह माग्नु लाजको पसारो मात्र भएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले तत्कालिन एमालेको रगत र पसिनाले बनाएका कुनै पनि पार्टी कार्यालयहरुमा आँखा नलगाउनु समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डले आफ्नो कार्यालय बेच्ने अनि पूर्वएमालेको रगत र पसिनाले बनाएको कार्यालय बब्जा गर्ने रु यस्ता नैतिक हराम काम नगर्नुस् । यस्ता गतिविधि हामी सफल हुन दिनेछैनौं ।’

आगामी निर्वाचनमा जनताले पुच्छर ठाडो पारेर कुद्ने बनाउने उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड–माधवले अब लालटिन चिन्ह लिएर चुनावमा जानुपर्नेमा जोड दिनुभयो । आफ्नो आन्दोलनमा जनताको सहभागित नहुने भएपछि लालटिन जुलुस निकाल्न बाध्य भएको उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचन पछि माधव–प्रचण्डलाई लालटिन नै बालेर खोज्नुपर्ने दिन आउने दावी गर्नुभयो ।

कम्युनिष्ट भित्रको फोहोर र भ्रष्टाचारलाई फाल्न प्रधानमन्त्री ओलीले अहिलेसम्म कुच्चो मात्र लगाउनुभएको उल्लेख गर्दै नेता बस्नेतले अबका दिनमा राँको बालेर खेदाउने समेत चेतावनी दिनुभयो । केपी ओली नेतृत्वको नेकपालाई कमजोर नठान्न चेतावनी दिँदै उहाँले प्रचण्ड–माधव अनैतिकमात्र हैन आत्मघाती भएको समेत उल्लेख गर्नुभयो । प्रचण्ड निरंकुश र सामन्तवादी भएको आक्रोस व्यक्त गर्दै नेता बस्नेतले सरकार तथा पार्टी विरुद्ध प्रचण्डको फोहोरी खेल सफल हुन नदिने समेत उद्घोष गर्नुभयो ।

जनताले दिएको म्यान्डेटको आधारमा जनताको विकास र समृद्धिको मुर्छित सपनालाई पुरा गर्ने राजनेता केपी ओली भएको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्डले माधव सहितका केही नेता आफ्नो गुटमा लाँदैमा केपी ओली नेतृत्वको नेकपामा संकट पैदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खोलामा पानी सुक्दा टेन्सन गर्ने हो तर माछा मर्दैमा टेन्सन गर्नु पर्दैन । पार्टीभित्रका केही माछाहरु मात्र हराएका हुन् । रुकुममा असंख्य माछाहरु उत्पादन हुनेछन् ।’


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १०:३२