हिउँदे सिजनमा हिमाल चढ्न ६ टोलीले लिए अनुमति

काठमाडौँ । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागमा सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् ।

त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास गर्ने गर्छन् । विभागका अनुसार हिउँदे सिजनका लागि लागि लुजा पिक (५७२६मि) क्याङ्गु री (६५०६ मि.) अमादब्लम (६८१४ मि), सुर्मा सरोवर (६५२३ मि र रोकापी (५४६७ मि) हिमाल चढ्न आरोहण अनुमति जारी भएको छ ।
त्यसमध्ये अमादब्लम हिमाल चढ्न दुई टोलीले अनुमति लिएका छन् । यो सिजनमा अमादब्लममा ६ पुरुष र दुई महिला आरोही जाने भएका छन् । कोरोना भाइरसको संक्रमण र त्यसको रोकथाम गर्न लिइएका कदमका कारण रोकिएको पर्यटन क्रमशः चलायमान हुने क्रममा छ ।
सोहीअनुसार पर्वतारोहणले समेत गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । यो सिजनमा जारी आरोहण अनुमतिबाट ३ लाख ३८ हजार १ सय २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

यो वर्ष शरद ऋतुमा भने ८ टोलीका ५८ जना आरोहीले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ५१ पुरुष र ७ महिला थिए । अघिल्लो सिजनबाट सरकारले ३३ लाख ७ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो ।
यस सिजनमा समेत अमादब्लम आरोहणमा बढी आकर्षण देखिएको थियो । यो हिमाल चढ्न तीन टोलीका २६ जना आरोहीले अनुमति लिएका थिए ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १४:२२