सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

काठमाडौँ । एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।
रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
ठेकेदार कम्पनीसँग सन् २०१० मा निर्माण सम्झौता भएको यो आयोजनामा स्थानीयवासीको अवरोध मात्र जिम्मेवार थिएन । निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीका साथै सामान आयातमा समस्याले पनि टावर निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । अहिले झिँगाने र टेकनपुरमा रहेको स्थानीयवासीको अवरोध साम्य भएपछि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावर कम्पनीले बाँकी रहेका छवटा टावर निर्माणलाई तीव्रता दिएको छ ।
प्रसारण लाइन आयोजना प्रमुख राजन ढुङ्गेलका अनुसार माघ पहिलो साताबाट ती टावर तयार गरेर तार टाँग्ने काम हुनेछ । कुल ४० किलोमिटर लामो प्रसारण लाइनमा १२५ वटा टावर रहनेछन् । ‘डबल सर्किट’ यो प्रसारण लाइन सम्पन्न गर्न करिब ४५ करोड रुपियाँ लागत लाग्ने आयोजना प्रमुख ढुङ्गेलको भनाइ छ ।
यसबाहेक सिङ्गटी सबस्टेसन र लामोसाँघु सबस्टेसनको स्तरोन्नतिका लागि थप १८ करोड रुपियाँ लागत लाग्ने छ । आयोजनाका अनुसार सिङ्गटी सबस्टेसन तयार भइसकेको छ भने लामोसाघुँको स्तरोन्नति जारी छ । ठेकेदार कम्पनीले बाँकी उपकरण भन्सार प्रवेशको प्रक्रियामा रहेको जनाएको छ ।
प्राधिकरण प्रसारण निर्देशनालय प्रमुख दीर्घायु श्रेष्ठले चाँडो प्रसारण लाइन तयार भएपछि सो क्षेत्रका जलविद्युत् आयोजनाले अब राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् पठाउन सक्ने बताउनुभयो ।
यो प्रसारण लाइनबाट २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत् आयोजना पहिलो लाभाग्राही हुनेछ । सो आयोजनाले प्रसारण लाइन तयार नभएकै कारण अयोजना सम्पन्न भएर पनि व्यावसायिक उत्पादन गर्न सकेको छैन । त्यसैगरी ४० मेगावाटको खानीखोला, छ दशमलव चार मेगावाटको सुरीखोला, ११ मेगावाटको तल्लो खारे जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । विभिन्न जलविद्युत् आयोजनाको विद्युत् सिँगटी सबस्टेसनमा ल्याएर जोडिनेछ । सो सबस्टेसनमार्पmत यही प्रसारण लाइन हुँदै विद्युत् लामोसाँघु सबस्टेसनमा ल्याइनेछ । लामोसाँघुको विद्युत् भक्तपुर ल्याएर मूल वितरण प्रणालीमा मिसाइने संरचना प्राधिकरणको रहेको छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार १२:२६