जनकपुर–जयनगर रेल सञ्चालन गर्न भारतद्वारा जनशक्ति आपूर्तिको प्रस्ताव

काठमाडौँ । भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।
नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको जानकारी दिनुभयो ।
उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उहाँले जानकारी दिनुभयो । भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ ।
नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ । मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार ११:२७