भ्रम फैलाउनेलाई ‘तह लगाउन’ अब टोल–टोलमा साइबर सेना गठन गर्छौ : महेश बस्नेत

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतले जनविरोधी काम गर्नेलाई ‘तह लगाउन’ अब टोल–टोलमा साइबर सेना गठन गर्ने चेतावनी दिनुभएको छ । युवा नेता बस्नेतले देश तथा जनविरोधीलाई तह लगाउन र वर्तमान केपी शर्मा ओली सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाउनेको विरुद्ध टोलटोलमा साइबर सेना गठन गर्ने बताउनुभएको हो ।

पूर्वउद्योगमन्त्री बस्नेतले नेकपाको सूर्यविनायक नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वर्तमान सरकारले देश र जनताको पक्षमा संसद विघटन गर्ने निर्णय गरेको बताउँदै अब ताजा जनादेशको विकल्प नभएको बताउनुभयो । ताजा जनादेशमा जान डराउनेलाई तह लगाउन अब टोलटोलमा साइबर सेना गठन गर्न पनि बस्नेतले युवाहरुलाई निर्देशन दिनुभयो । संसद पुनस्थार्पनाको हल्लाको पछाडि नलागी ढुक्क भएर निर्वाचनको तयारीमा जुट्न पनि कार्यकर्तालाई बस्नेतले आग्रह गर्नुभयो ।

भक्तपुर नेकपाको आधारभूमी रहेको बताउँदै भक्तपुरबाट अन्य जिल्लाई सन्देश दिने गरि आफूहरु अगाडि बढिरहेको बताउनुभयो । भक्तपुरमा प्रचण्ड माधव समूहको जमानत जफत हुने बताउँदै कार्यकर्तालाई ढुलमुल नभई ओलीले लिनुभएको अडानमा एकताबद्ध हुन आग्रह गर्नुभयो । बस्नेतले प्रचण्डले आफ्नो स्वार्थ पुरा गर्न जो सुकैलाई राष्ट्रपति, प्रधानमन्त्रीको सपना देखाई दिने र अन्त्यमा सवैलाई धोका दिने गरेको तर केपी ओलीले बोलेको कुरालाई व्यहारमा उतारेको दावी गर्नुभयो ।

देशमा अस्थिरता निम्त्याउने, जातीय राज्य बनाउने पुष्प कमल दाहाल प्रचण्डको योजना असफल भई संघिय लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली जनताको हातमा शासन व्यवस्था ल्याउन नेतृत्व गर्ने राजनेता केपी ओली भएको तर्क प्रस्तुत गर्नुभयो । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा माधव नेपाल उपप्रधानमन्त्री हुनुभएको समयमा सरकारले लोकप्रीय योजनाहरु ल्याएकाले कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै नेता बस्नेतले उक्त समयमा माधव नेपालकै विशेष जोडबलमा मनमोहले संसद विघटनको प्रस्ताव गरेको जानकारी गराउनुभयो ।


प्रकाशित | २० पुष २०७७, सोमबार २०:२०