नेपाली जनसम्पर्क समिति बेलायतको सहयोगमा चितवनको चेपाङबस्तीका १ सय ३० परिवारलाई राहत वितरण

चितवन: नेपाली जनसम्पर्क समिति बेलायतको सहयोगमा चितवनको इच्छाकामना गाउपाँलिकाका चेपाङबस्तीमा रहेका कोभिड प्रभावतीलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. २ को चेपाङबस्तीका १ सय ३० परिवारलाई तीस किलोका दरले राहतस्वस्त चामल वितरण गरिएको हो ।

इच्छाकामनाको वडा नम्बर २ चेपाङ बाहुल्य वडा हो । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको यस वडामा ३ हजार ८ सय भन्दा बढी चेपाङ छन् । कोभिड १९ को कारण लकडाउन हुँदा उनीहरुलाई खानामै समस्या भइरहेको जानकारी पाएपछि जनसम्पर्क समिति बेलायतले राहत सहयोग गरेको हो ।

नेपाली जनसम्पर्क समिति बेलायतको सहयोगमा बेलायतमा बस्दै आउनुभएको सोही गाउँपालकाका निवासी विनय अधिकारीको संयोजनमा राहत वितरण गरिएको हो । जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सकृयतामा समितिका शुभचिन्तक तथा सहयोगीहरुबाट संकलन गरिएको रकमले राहत वितरण गरिएको अधिकारीले जानकारी गराउनुभयो ।

अधिकारीले गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङलाई एकमुष्ट राहत हस्तान्तरण गरी गाउँपालिकाको रोहवरमा सम्बन्धित ठाउँमै पुगेर राहत वितरण गरिएको जानकारी गराउनुभयो । गाउँपालिकासँगको समन्वयमा वडा नम्बर २ का मायाटार, भोर्ले, डाँडागाउँ, तेर्से, ल्याम्दार, रमाइलोडाँडा तथा वडा नम्बर ४ का मडकिना, गैरीगाउँ, खैरेनीटारलगायतका क्षेत्रका चेपाङ परिवारहरुलाई राहत वितरण गरिएको हो ।

गाउँपालिकाकी अध्यक्ष गुरुङले गाउँपालिकाको सबै ठाउँमा एक चरणको राहत पु¥याइएको जानकारी दिँदै आवश्यकताअनुसार थप राहत वितरण गर्दै लाने पनि बताउनुभयो । वडाध्यक्ष पञ्चबहादुर चेपाङले ९५ प्रतिशत परिवार अतिविपन्न तथा सिमान्तकृत वर्ग रहेको क्षेत्रमा प्राप्त भएको राहतले स्थानीयबासी लाभान्वित भएको बताउनभुयो ।

उक्त वडाका सचिव रिता अर्यालले राहत वितरणसँगै स्थानीयबासीमा कोरोना भाइरसबाट सतर्क रहने उपायबारे सचेत गराइएको बताउनुभयो । राहत वितरणका लागि गाउँ पुगेकी गाउँपालिकाकी प्रबक्ता सावित्री गुरुङले तुलनात्मक रुपमा आर्थिक अवस्था कमजोर र कम साक्षर रहेको गाउँ भएकाले गाउँपालिकाले पनि चेपाङबाहुल्य क्षेत्रलाई प्राथमिकतामा पार्दै उल्लेख गर्नुभयो ।


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार १०:१३