राष्ट्रिय पौडी प्रतियोगिता: गौरिका र शुभमको कीर्तिमान

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २५ मिटरको पुलमा खेलाइएको खेलमा स्टार पौडी खेलाडी गौरिकाले दुइ सय मिटर ब्याकस्ट्रोकको हिट्समा आफ्नै नाममा रहेको किर्तिमान सुधार गरिन् । यसअघि उनको नाममा ३१ दशमलव ३१ सेकेन्डको रेकर्ड रहेको थियो । पुरुष १ सय मिटर ब्रेष्टस्ट्रोकको हिट्समा शुभमले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले पनि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन्

महिला आठ सय मिटर फ्रि स्टाइलमा गौरिकाले नेपालको लागि नयाँ किर्तिमान बनाइन् । आर्मीकी खेलाडी गौरिकाले नौ‌ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दुरी तय गर्दै जारी राष्ट्रिय पौडी प्रतियोगिताकै पहिलो स्वर्ण जितिन् । सेनाकै उपास्ती महर्जनले रजत र प्रहरीकी समिरा शोभा थापाले कास्य प्राप्त गरे। पुरुष आठ सय मिटरमा एनआरएनका नाथन दोर्जी शेर्पाले स्वर्ण जिते । उनले नौ मिनेट १७ सेकेन्डमा पुरा गरे।

एपीएफका नासिर हुसेन दोस्रो र एपीएफकै उर्गेन महर्जन तेस्रो भए । यसैगरी ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण जिते । ११ टिमका १ सय ३२ खेलाडीले कुल ३४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १९:२९