एनआरएनएको विशेष महाधिवेशनमा सबैको भावना समेटेर प्रस्ताव लगिने

टेक्सस । गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको जनवरी अन्तिम साता हुने विशेष अधिवेशन संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताउनुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रले आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना आदान–प्रदान तथा विशेष अधिवेशन’ विषयक अन्तरक्रिया कार्यक्रम डा. शर्माले उक्त कुरा बताउनुभएको हो ।

सदस्यता वितरणमा भएको आर्थिक चलखेलले राष्ट्रिय समितिका निर्वाचनमा सिन्डिकेट रहेको बताउँदै उहाँले विशेष अधिवेशनमा प्रस्तुत अजेन्डाले त्यस्ता सिन्डिेकट तोड्न सफल हुने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघको निर्वाचनमा विकृतिको मुख्य स्रोत पैसा र पोलिटिक्स् भएको बताउनुभयो । संघको मुख्य उद्देश्य निर्वाचनमा पैसा र पोलिटिक्सको प्रभाव रोक्नु रहेकाले यो च्यालेन्ज उठाएर विधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।

चुनावी प्रकृयालाई व्यवस्थित गर्न संघले प्रस्ताव गरेको विधानमा संशोधन गरिएको बताउनुभयो । महासचिव डा. शर्माले भन्नुभयो, ‘गैरआवासीय नेपाली संघले अघि सारेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम ) लाई कसैले पनि प्रभावित गर्न सक्दैन ।’

गैर आवासीय नेपाली संघले विश्वभर छरिएका ८३ देशमा रहेका राष्ट्रिय समितिलाई हेरेर नीति बनाउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । डा. शर्माले भन्नुभयो, ‘अहिलेदेखि नै राष्ट्रिय समितिमा अनलाइनको मतदान सुरु गरे भविष्यमा त्यसलाई अझै व्यवस्थित गरेर लैजान सकिन्छ ।’

‘विधान संशोधनमा देखिएका फरक भावनालाई समेत समेटेर लैजान थप छलफल गरे जान सकिन्छ’, डा. शर्माले भन्नुभयो, ‘अहिले प्रस्ताव गरिएको विधानले संस्थाभित्र व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । परिवर्तनको अजेन्डाबाट पछि नहट्न म सबैसँग आग्रह गर्दछु ।’

गैर आवासीय नेपाली संघको विशेष महाधिवेशन विधानअनुरुप नेपाल सरकारको समन्वय, वैधानिक निकाय र कानुनविद्को सल्लाहबाट बोलाइएको जानकारी दिनुभयो ।

संघका सचिव गौरीराज जोशीले संघले अघि सारेको एमआईएस रकेट साइन्न नभएको तर्क गर्दै प्रविधिमा कमिकमजोरी भए सुधार गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले स्मार्ट एनआरएनए अन्तर्गत १३ वटा फिचर रहेको बताउँदै सदस्यता वितरण र चुनावी प्रकृयामा मात्र ध्यान नदिन आग्रह गर्नुभयो । उहाँले गैर आवासीय नेपाली संघका राष्ट्रिय समिति जग भएको र त्यसलाई आइसीसीले छानाको रुपमा संरक्षण गरेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा अमेरिकास्थित गैरआवासीय नेपाली संघका क्षेत्रीय समिति, कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष डा. केशव पौडेल, खगेन्द्र जिसी, संघका सल्लाहाकार हरिबोल भण्डारीलगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।


प्रकाशित | १९ पुष २०७७, आईतवार २१:१२