काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
प्रकाशित | १५ पुष २०७७, बुधबार ०८:३८