“मन्त्री गुरुङले मिडियालाई समाचार डिलिट गर्न निर्देशन दिनु भएको छैन”

राजेन्द्र मानन्धर,संचार विज्ञ
नेपाली मिडियाहरु आफैमा जिम्मेवार छन् । पत्रकारिताको आचारसंहितालाई पूर्णतः आत्मसाथ गर्छन् भन्नेमा नेपाली पाठकहरु विश्वस्त पनि छन् ।
कन्टेन्टको सवालमा नेपाली मिडियाहरुले स्वतन्त्रता प्रयोग गरिरहेका छन र कुनै व्यवधान खडा भएको छैन भन्ने सम्पादकहरु र मिडिया सञ्चालकहरुले अनुभूति गरिरहनु भएकै छ ।
पूर्णप्रेस स्वतन्त्रता, प्रेसमैत्री संस्कार र नेपाली पत्रकारिताको विकासमा संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ सचेतपूर्वक अघि वढिरहनु भएको छ । यो मन्त्रालयको जिम्मेवारी काँधमा आउनेवित्तिकै श्रमजीवि पत्रकारहरुका नेताहरुसँग भेटिरहनु भएको छ । मिडिया सञ्चालकहरुसंग पनि भेटिरहुन भएको छ । नेपाली प्रेसको विकास र समस्या समाधानका निम्ती सुझावहरु लिरहनुभएको छ । प्राप्त सुझावहरु कार्यन्वयका लागि दत्तचित्त भै लाग्नु भैरहेको छ । त्यसैको परिणाम पछिल्ला दिनहरुमा सञ्चार मन्त्रालयबाट पत्रकारहरुलाई राहत अनुभूति हुने केही कार्य प्रारम्भ भएको नेपाल पत्रकार महासंघको भनाईहरुबाट पनि पुष्टि भएको छ ।
प्रेसमैत्री व्यवहार, असल र सालिन स्वभावका मन्त्री भनेर प्रतिकृया आइरहेका वेला माननीय मन्त्री पार्वत गुरुङले कुनै पनि मिडियालाई निर्देशन दिएको भन्ने भ्रमपूर्ण समाचार प्रकाशन भैरहेको प्रति ध्यानाकर्षण भएको छ ।
नेपाली मिडियाहरु भूलवस गल्तीपूर्ण समाचार वाहिरिएमा पाठकसामु माफी माग्दै भूल सुर्धान पनि तयार हुन्छन भन्ने उदाहरण सेतोपाटी अनलाईनले प्रस्तुत गर्नु आफैमा अनुकरणीय छ । दोलखामा भएको अराजक, गैरराजनीतिक र पशु यातना गरिएको एक घटनाको समाचार बनाएको सन्र्दभलाई लिएर सेतोपाटी अनलाईनले आफ्नो सम्पादकीय धारणा प्रस्तुत गर्दै सच्याइएको विषयलाई अर्को एक अनलाइनले मन्त्रीको निर्देशनमा समाचार डिलिट गरिएको भन्ने कपोकल्पित समाचार दिनु अस्वभाविक, वचपना र नियोजित पत्रकारिताको रुपमात्रै हो भन्ने मेरो ठहर छ ।
आज शनिवार विहान ८ बजेदेखि दिनभर म आफै संचार तथा सूचना प्रविधि मन्त्रीज्यूसँग तीन वटा कार्यक्रममा सहभागी छु । उहाँले कुनै पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्दा वा टेलिफोन वा भेटेर कुनै पनि मिडिया हाउसलाई समाचार मेटाउन निर्देशन दिनुभएको छैन ।
आमसञ्चारमाध्याम र सामाजिक सञ्जालहरु पूर्णस्वतन्त्र छन । सत्य, तथ्य र निश्पक्षताको पक्षपाति पनि छन् । साथै, छाडा हुने, भ्रम फैलाउने, नागरिकलाई भड्काउने, अरुको अपमान गर्ने घिनलाग्दा सामाग्री प्रस्तुत गर्नु हुन्न भन्नेमा सचेत वर्ग जानकार हुन्छन भन्ने मेरो बुझाइ छ ।
मिडियाहरू देशको नियम, कानुनअनुसार चल्ने हो । कानुनअनुसार भएनभएको हेर्ने निकाय कानुनअनुसार नै काम गरिरहेका हुन्छन् ।
त्यसैले,माननीय मन्त्री गुरुङप्रति लक्षित गर्दै अमुक स्रोतको हवला दिदै फैलाइएको समाचारमा कुनै सत्यता छैन भन्ने प्रष्ट पार्न चाहन्छु । धन्यवाद ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १५:३८