चुनावमा दुई तिहाइ ल्याउने गरि लाग्न प्रधानमन्त्री ओलीको केन्द्रीय सदस्यहरुलाई निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा दुई तिहाई बहुमत ल्याउने गरि लाग्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले चुनावमा दुई तिहाई ल्याउने गरि केन्द्रित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको हो ।

ओलीले बाहिर हल्ला गरिएजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताउनुहुँदै चुनावमा केन्द्रित हुन आग्रह गर्नुभयो । बैठकमा ओलीले प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर अगाडि बढ्न पनि निर्देशन दिनुभएको थियो ।

बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी पनि घोषणा गरेको छ । बैठकले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।

थापाका अनुसार महाधिवेशन आयोजक समिति कुल ११९९ सदस्यीय हुनेछ । जसमा वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप गरिनेछ ।

ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो ।

त्यस्तै, ओली समूहले प्रचण्ड -माधव नेपाल समूहको बैठक आधिकारिक नभएको र आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । परराष्ट्रमन्त्री तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष, महासचिव र माइन्युटविना बस्ने बैठक आधिकारिक हुन नसक्ने र आफूहरुकै आधिकारिक भएको बताउनुभयो।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १३:४६